स्नातक तह अध्ययनरत मानविकी संकायका विद्यार्थीलाई क्याम्पसकै परामर्श

हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले स्नातक तहमा अध्ययनरत मानविकी संकायका विद्यार्थीका लागि परामर्श कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार बिहान क्याम्पसको सभाकक्षमा स्नातक तहका विद्यार्थीका लागि औपचारिक अध्ययनका लागि विद्यार्थीले ध्यान दिनुपर्ने कुरा, क्याम्पसले गर्दै आएको सहजीकरण, सीप, दक्षता अभिवृद्धिको विषयमा विद्यार्थीलाई परामर्श कार्यक्रमको आयोजना गरेको हो । क्याम्पसले परामर्शका क्रममा विद्यार्थीका प्रतिक्रिया, सल्लाह तथा सुझाव समेत संकलन गरेको छ ।

मानविकी संकायका प्रमुख कृष्णप्रसाद पौडेलको अध्यक्षता तथा क्याम्पस सञ्चालक समिति सदस्य कृष्ण धितालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । परामर्श कार्यक्रममा सहायक क्याम्पस प्रमुख संगम चौलागाईले स्नातक तहमा मानविकी संकायका विद्यार्थीले अध्ययन गर्नुपर्ने विविध विषय र विद्यार्थीको क्रियाकलाप, क्याम्पसले गर्दै आएका कार्यका विषयमा जानकारी गराउनुभएको थियो भने अर्का सहायक क्याम्पस प्रमुख उत्तम अर्यालले विद्यार्थीलाई अभिप्रेरणामूलक प्रस्तुती राख्नुभएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख यमबहादुर सिलवालले स्नातक तहका विद्यार्थीको प्रभावकारी सिकाईका लागि क्याम्पसले सक्दो प्रयास गर्ने र विद्यार्थीको तर्फबाट पनि रचनात्मक सुझावको अपेक्षा गरिएको बताउनुभयो ।

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष छोइसाङ स्याङ्तान लामाले विद्यार्थीले नियमित क्याम्पसमा उपस्थिति भएर अध्ययन गर्ने र आफ्नो व्यक्तित्व विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । पछिल्लो समय स्नातक तहमा विद्यार्थीको उपस्थिति न्यून भइरहेको, उच्च शिक्षाका लागि भनेर विदेशिने क्रम बढिरहेका बेला क्याम्पसले देशमै बसेर अध्ययन र आफ्नो समाजका सकारात्मक योगदान दिनुपर्ने विषयमा विद्यार्थीलाई जिम्मेवार बनाउन परामर्श कार्यक्रमको आयोजना गरेको हो । मानविकी संकायका प्रमुख पौडेलले यस किसिमका कार्यक्रम नियमित गर्दै जाने बताउनुभएको छ । विद्यार्थीसँगै अभिभावक र सरोकारवालासँग समेत अन्तरक्रिया र सहकार्य गरी स्नातक तहका विद्यार्थीलाई गुणस्तरीय सैद्धान्तिक पक्ष र व्यवहारिक अभ्यासमा पनि परिचालन गर्ने विषयमा क्याम्पसले आवश्यक कार्य गर्ने उहाँको भनाइ छ ।

परामर्श कार्यक्रममा विद्यार्थीले प्रभावकारी सिकाईका लागि क्याम्पसले अझ धेरै सहजीकरण गर्नुपर्ने सुझाव दिएका छन् । स्नातक तह प्रथम बर्षमा अध्ययनरत छात्रा प्रिया सिंहले स्नातक तहका विद्यार्थी साथीहरुले आफ्ना जिज्ञासा, धारणा र सल्लाह प्रस्तुत गर्न समेत डराउने अवस्था हुनु चिन्ताको विषय भएको बताउनुभयो । प्रभावकारी सिकाईका लागि यस किसिमको अन्तरक्रिया र परामर्श जरुरी भएको उहाँको भनाई थियो । नियमित पठनपाठनसँगै विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन पनि जरुरी रहेको विद्यार्थीको सुझाव थियो । स्नातक तह अध्ययन गर्दै गरेका, अध्ययन पूरा गरेका विद्यार्थीको समुदायमा कहाँ कहाँ संलग्नता र योगदान छ त्यसको लगत क्याम्पसले संकलन गर्नुपर्नेमा विद्यार्थीले जोड दिएका छन् ।

श्राेत: समृद्ध समाज राष्ट्रिय दैनिक