मकवानपुर क्याम्पसमा अध्यापनको तयारी

Makawanpur Multiple Campus Hero Banner

हेटौंडा, ५ साउन/लकडाउनका कारण करिब चार महिना बन्द रहेको मकवानपुर बहुमुखी क्याम्पसले अध्यापन गराउने तयारी गरेको छ । लकडाउन केही खुकुलो भएसँगै क्याम्पसले पठन पाठन सुचारु गर्ने तयारी गरेको हो ।

क्याम्पसले अनलाइन माध्यमबाट सम्भव भएसम्मका विद्यार्थीलाई सहभागी गराएर पठनपाठन सुचारु गर्ने तयारी गरेको क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले जानकारी दिए । कक्षा ११ का विद्यार्थीको मूल्यांकन गर्ने, नियमित पठनपाठन सञ्चालन गर्ने तथा नया“ भर्नाको व्यवस्थापनको विषयलाई लिएर मकवानपुर बहुमुखी क्याम्पसको प्राज्ञिक समितिको बिहीबार छलफल गरेको छ । प्राज्ञिक समितिको छलफलपछि क्याम्पसले संकायगत छलफल गरिरहेको छ । शुक्रबार व्यवस्थापन संकाय प्रमुख, विभागीय प्रमुख तथा प्राध्यापकबीच छलफल सञ्चालन गरेको थियो भने सोमबार बिहान मानविकी तथा शिक्षाशास्त्र संकाय र विज्ञान संकायका प्रमुख एवम् विभागीय प्रमुख तथा प्राध्यापकहरुबीच छलफल गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक परीक्षा र कक्षामा विद्यार्थीको उपस्थितिका आधारमा मूल्यांकन गरी कक्षा ११ को वार्षिक नतीजा प्रकाशन गर्ने जनाएको छ । बोर्डले निर्देशिका जारी नगरिसकेको अवस्थामा क्याम्पसले आवश्यक तयारी गर्न सुरु गरेको क्याम्पस प्रमुख उपाध्यायले बताए । यस्तै क्याम्पसले साउन दोस्रो सातादेखि कक्षा १२ र स्नातक तहको पठनपाठन अनलाइनमार्फत सञ्चालन गर्ने तयारी गरेको मकवानपुर बहुमुखी क्याम्पसको शैक्षिक प्रमुख एवम् सहायक क्याम्पस प्रमुख डा. रामप्रसाद अधिकारीले जानकारी दिए । क्याम्पसमा ठूलो संख्यामा विभिन्न जिल्ला एवम् प्रदेशका विद्यार्थी भएकाले सबैलाई समेट्न नसकिए पनि सम्भव भएसम्मका विद्यार्थीलाई क्रमशः नियमित पठनपाठनमा सहभागी गराउने सहायक क्याम्पस प्रमुख डा. रामप्रसाद अधिकारीले बताए ।

Source: https://rb.gy/tlpv76

This will close in 3 seconds